सामाजिक सञ्जाल नियमनमा नेपालको अलमलः आसय नियन्त्रण कि प्रवर्द्धन ?

डिजिटल युगमा सामाजिक सञ्जाल नियमनको वास्तविक सफलता प्रतिबन्धमा होइन, विश्वास, उत्तरदायित्व र अधिकारको सहअस्तित्वमा निहीत छ ।

मानिसको सभ्यता २१औँ शताब्दीमा पुगिरहँदा विभिन्न औद्योगिक क्रान्ति पार गरेर अहिलेको डिजिटल युगमा प्रवेश गरेको छ । अहिलेको परिवेशमा हाम्रा हरेक क्रियाकलाप सूचना प्रविधिको प्रयोग विना अपुरो महशुस हुने अवस्था छ । चाहे त्यो दैनिकरूपमा गरिने संवाद होस् वा अत्यावश्यक सेवाहरूको प्रयोग । हरेक विषयमा डिजिटल उपस्थिति अनिवार्य सरह भइसकेको छ ।

७४% विश्व जनसङ्ख्या इन्टरनेटमा
५६% नेपालको इन्टरनेट पहुँच
२.६६ करोड मोबाइल इन्टरनेट प्रयोगकर्ता
१.४८ करोड सामाजिक सञ्जाल प्रयोगकर्ता

हालै विश्व दूरसञ्चार संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, विश्वको कुल जनसङ्ख्याको ७४ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । सन् २००५ मा विश्वका जम्मा १६ प्रतिशत जनसङ्ख्या मात्रै इन्टरनेटको पहुँचमा थिए । तर, २० वर्षको अवधिमा आएको परिवर्तनलाई आफैँमा एक उल्लेखनीय उपलब्धि मान्न सकिन्छ ।

नेपालको सन्दर्भमा समेत सन् २०२५ को अन्त्यसम्ममा कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा पुगिसकेको तथ्याङ्क छ । अझै मोबाइल इन्टरनेट (डेटा) को समेत आँकडा हेर्ने हो भने इन्टरनेटको पहुँच झण्डै ९० प्रतिशतमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यसअनुसार २ करोड ६६ लाख भन्दा बढी मानिस मोबाइल इन्टरनेटको पहुँचमा छन् । जसले इन्टरनेटको पहुँच मात्र नभएर हाम्रो समाज प्रविधिमैत्री भइरहेको इङ्गित गर्छ ।

महत्वपूर्ण तथ्य: इन्टरनेटको पहुँच विश्वव्यापीरूपमा नै तीव्र गतिमा बढिरहेका बेला अधिकांश प्रयोगकर्ता सामाजिक सञ्जालमा सक्रिय रहेको तथ्याङ्कले देखाउँछ । विश्वभरी ५ अर्ब ६६ करोड र नेपालमा १ करोड ४८ लाख मानिस आजको दिनमा सामाजिक सञ्जालमा सक्रिय रहेको देखिन्छ ।

यसरी हेर्दा विश्व जनसंख्याको झण्डै ६९ प्रतिशत व्यक्तिहरूको उपस्थिति सामाजिक सञ्जालमा छ । जसले यो माध्यमलाई सामाजिक एवम् आर्थिक दुवै विधामा अर्थपूर्ण प्रभाव पार्ने विविध घटनाक्रमले चित्रण गरिसकेको छ ।


नेपालमा सामाजिक सञ्जाल नियमनको प्रयास

इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा ठुलो हिस्सा सामाजिक सञ्जालमा रमाइरहँदा यसको नियमनको विषय भने कुनै एक राष्ट्रको सीमाभित्र मात्रै सीमित भने छैन । नेपालको सन्दर्भमा सामाजिक सञ्जालको नियमन नयाँ विषय पक्कै होइन ।

नियमनको समयरेखा

२०७५ साल

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो कार्यकालमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएका थिए । उक्त विधेयक नेपालको साइबर स्पेश नियमन गर्न अघि सारिएको एक नवीनतम् अभ्यास थियो ।

२०८० मंसिर ११

रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेर आइन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका पारित गराउँदै राजपत्रमा प्रकाशित गराइन् । तर, यो निर्देशिकालाई लिएर पनि टिकाटिप्पणी भए ।

२०८० कात्तिक २७

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक नेपालमा लगभग १ वर्ष प्रतिबन्धमा पर्‍यो ।

२०८२ भदौ ९

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सूचीकरणमा आउन सार्वजनिक आह्वान गरेको थियो ।

२०८२ भदौ १९

सूचीकरणमा नआएको भन्दै २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने अलोकप्रिय निर्णय गर्‍यो । प्रतिबन्धले राजनीतिक दलप्रति चुलिएको आक्रोशलाई थप बढाउने काम गर्दा २३ र २४ भदौको जेन-जी आन्दोलनले देशको समग्र राजनीतिक अवस्था नै फेरिदियो ।

२०८१ माघ १५

तत्कालीन सञ्चारमन्त्री गुरुङले राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक दर्ता गराएका थिए । उक्त विधेयक अझै पनि राष्ट्रिय सभामा विचाराधीन छ ।

विवादास्पद प्रावधानहरू:

  • सामाजिक सञ्जाल दर्ता अनिवार्य
  • दर्ता नहुने सामाजिक सञ्जाललाई रोक लगाउने
  • सूचना प्रविधि विभागलाई सामग्री हटाउन निर्देशन दिने अधिकार
  • २४ घण्टा भित्र सामग्री हटाउनुपर्ने व्यवस्था

अन्तर्राष्ट्रिय अभ्यासहरू

सामाजिक सञ्जाल नियमनको विषय नेपालमा मात्र नभएर विभिन्न देश तथा क्षेत्ररूमा केही नजिर स्थापित भएको देखिन्छ । विश्वव्यापी रूपमा नै पेचिलो बनिरहेको सामाजिक सञ्जाल नियमनको बहस आफैमा बहुआयामिक छ ।

🇪🇺 युरोपियन युनियनको अभ्यास

युरोपको अभ्यास अनलाइन सुरक्षा तथा मानव अधिकार संरक्षणलाई जोड दिएको पाइन्छ । नियमनको अभ्यास विभिन्न चरणमा लागु भएका कानुनमा आधारित छ ।

GDPR (सन् २०१६)

  • डेटा संरक्षणमा महत्वपूर्ण भूमिका
  • डेटा प्रशोधन गर्नुपूर्व अनिवार्य अनुमति
  • Right to be Forgotten को व्यवस्था
  • स्वतन्त्र डेटा संरक्षण निकायको स्थापना

Digital Services Act (सन् २०२२)

  • सम्पूर्ण डिजिटल प्लेटफर्मको नियमन
  • १० प्रतिशतभन्दा धेरै प्रयोगकर्ता भएका १९ ठुला सेवा प्रदायकको कडा नियमन
  • गैरकानुनी क्रियाकलापको अनुगमन
  • उल्लंघनमा युरोपस्तरीय प्रतिबन्ध र चर्को जरिवाना

🇬🇧 बेलायतको अनलाइन सुरक्षा ऐन

बेलायतले सन् २०२३ अक्टोबरमा अनलाइन सुरक्षा ऐन (Online Safety Act 2023) लागु गरेको छ । जसले डिजिटल सुरक्षालाई नयाँ आयाम प्रदान गरेको छ ।

  • उमेर प्रमाणीकरण प्रणाली अनिवार्य
  • बालबालिकाहरूलाई हानिकारक सामग्रीबाट संरक्षण
  • गैरकानुनी सामग्री द्रुत रूपमा हटाउने प्रणाली
  • Ofcom लाई व्यापक नियामक अधिकार
  • राजस्वको १० प्रतिशत वा १.८ करोड पाउन्डसम्म जरिवाना
  • गम्भीर अवस्थामा सेवा प्रतिबन्ध गर्न सक्ने

आलोचना: End-to-End Encryption कमजोर हुने र प्रयोगकर्ताको गोपनियतामा आघात पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

🇦🇺 अष्ट्रेलियाको अभ्यास

अष्ट्रेलियाले भने बालबालिकाको सुरक्षालाई मुख्य आधार मान्दै उमेर हदका आधारमा सामाजिक सञ्जाल नियमनको फरक अभ्यास सुरूवात गरेको छ ।

कठोर नियम: १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण निषेध लगाइएको छ । यसलाई हाल लागु भएका नियममध्ये सबैभन्दा कठोर रूपमा हेरिएको छ ।

जिम्मेवारी: सामाजिक सञ्जाल प्लेटफर्महरूलाई उचित कदम चाल्ने जिम्मेवारी दिइएको छ जसले गर्दा १६ वर्ष मुनिका बालबालिकाहरूले खाता खोल्न नपाउन् ।

बहस: यो कठोर नियमले बालबालिकाको अनलाइन सुरक्षा र उनीहरूको डिजिटल अधिकारबिचको सन्तुलन कसरी कायम राख्न सक्छ भन्ने विश्वव्यापी बहस समेत सुरु गराएको छ ।


अन्तर्राष्ट्रिय सिकाइँहरु तथा हाम्रो वर्तमान अवस्था

अन्तर्राष्ट्रिय सिकाइँहरुलाइ आधार मान्ने हो भने उनिहरुले केहि नजिर स्थापित गरेको भेटिन्छ जस्तै कि समयसापेक्ष कानुन तथा कानुनमा आधारित नियमन, स्वतन्त नियामक निकायको व्यवस्था, नागरिक हकको संरक्षण तथा सुनिश्चितता ।
✓ समान विशेषताहरू
  • • नागरिकको अधिकार संरक्षण
  • • गैरकानुनि क्रियाकलापको रोकथाम
  • • बालबालिकाको सुरक्षा
  • • नागरिकको विश्वास

नेपालको वर्तमान अवस्था

हाम्रो सन्दर्भमा हेर्ने हो भने हामिसँग मौजुदा कानुनी संयन्त्रको कुरा गर्ने हो भने सूचना प्रविधि क्षेत्रको विशिष्टिकृत कानुन भनेको विद्युतीय कारोबार ऐन, २०६३ मात्र छ । लगभग २० वर्ष पहिला लागु गरिएको यो कानुनले अहिले भइरहेको सूचना प्रविधिको तीव्र विकासका सन्दर्भमा गर्नुपर्ने नियमनको विषय सम्बोधन गर्न सक्दैन ।

आलोचनाको मुख्य कारण: सबै प्रयत्नहरुमा कठोर नियमनको प्रयास नै आलोचनाको मुख्य कारण रहेको देखिन्छ । भर्खरै बामे सार्दै गरेको सूचना प्रविधि उद्योगलाई कठोर नियमन भन्दा पनि प्रवर्द्धनमुखी नीति तथा नियमले डोहोर्‍याउँदै लैजानु आजको आवश्यकता देखिन्छ ।

कर सम्बन्धी भ्रम

सामाजिक सञ्जाल नियमनमा समेत सरकारी तवरबाट गलत र भ्रामक सूचनाको प्रवाह भइरहेको देखिन्छ । यसको एउटा उदाहरण सामाजिक सञ्जाल सेवा प्रदायकलाई करको दायरामा आउनको लागि सूचीकरण गर्नुपर्ने प्रयास हो ।

वास्तविकता: विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०८१ अन्तर्गत गुगल, फेसबुक, माइक्रोसफ्ट लगायत कम्पनीहरू नेपालको कर प्रणालीमा २०८० असारदेखि नै दर्ता भइसकेका छन् ।

आर्थिक वर्ष २०८०/८१:

  • १९ कम्पनी दर्ता
  • २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार
  • ४१ करोड कर तिरेको

यस्तो गलत प्रचारले सरकारको नियत नियमन हो कि नियन्त्रण भन्ने प्रश्न खडा गरेको छ ।


अबको बाटो

हामिसंग मैजुदा रहेका कानुनि तथा सस्थागत संरचनाबाट आजको डिजटल समाज र अर्थतन्त्रको, नियमन अनि प्रबर्दधन दुवै हुन सक्दैन । अहिले विचाराधिन रहेका विधयक सोहि मनसाय र प्रावधानका साथ संसदबाट पारित नै भएर कानुन बन्दै गर्दा पनि यसको कार्यन्यन सहज छैन ।

सामाजिक सञ्जाल कम्पनीहरू प्रतिक्रिया नदिनुका कारणहरू:

  • प्लेटफर्म सूचीकरणलाई सञ्चालन अनुमति (License) जस्तो बनाइनु
  • सामग्री हटाउने अधिकार सरकारी निकायमा केन्द्रित हुनु
  • न्यायिक पुनरावलोकन र अपिलको स्पष्ट व्यवस्था नहुनु
  • प्राविधिक रूपमा कार्यान्वयनमा जटिलता हुनु

कम्पनीहरूको तर्क: उनीहरू नेपालको कानुन मान्न तयार छन्, तर त्यो कानुन अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्लेटफर्म–उत्तरदायित्व, पारदर्शिता र प्रयोगकर्ताको अधिकारमा आधारित हुनुपर्छ ।

प्राविधिक चुनौतीहरू

संसदबाट कानुन पारित भए पनि सामाजिक सञ्जाल कम्पनीहरू तत्काल नेपालमा भौतिक रूपमा दर्ता वा कार्यालय खोल्न बाध्य हुँदैनन् । यदि बाध्य पार्ने नै हो भने अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया र अदालतको आवश्यकता हुन्छ जुन विषय निकै जटिल छ ।

नेपालले गर्न सक्ने उपायहरू:
  • 📌 विज्ञापन तथा व्यावसायिक गतिविधिमा रोक
  • 📌 ISP मार्फत आंशिक अवरोध
  • 📌 अन्तर्राष्ट्रिय कानुनी सहकार्यको प्रयास

महत्वपूर्ण: पूर्ण प्रतिबन्ध अन्तिम विकल्प (Last Resort) मानिन्छ जुन आफैँमा अलोकतान्त्रिक र अधिनायकवादी अभ्यास हो ।

दीर्घकालीन समाधान

सरकारले कठोर नियमनको हठबाट माथि उठेर समय सापेक्ष कानुन अवलम्बन गर्नुको विकल्प छैन । आजको आवश्यकता भनेको नागरिको डेटा तथा मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर सरोकारवालहरुको सहभागीतामा नीति निर्माणमा जोड दिनु हो ।

आवश्यक सन्तुलनहरू:

  • अनलाइन माध्यममा उपभोग गर्ने अधिकार
  • अभिव्यक्ति स्वतन्त्रता
  • गोपनीयता र सुरक्षा
  • डिजिटल अर्थतन्त्र र नवप्रवर्तन
  • नागरिक स्वतन्त्रता
नेपालले अब सामाजिक सञ्जाललाई केवल “नियन्त्रण गर्ने समस्या” होइन । लोकतन्त्र, अर्थतन्त्र र डिजिटल सिटिजनसिपलाई अविभाज्य हिस्साका रूपमा हेर्न जरुरी छ ।

दीगो समाधानका लागि:

✓ व्यापक परामर्श

सरोकारवालहरूको सहभागिता

✓ सहकार्य

सरकार र प्लेटफर्मबिच संवाद

✓ अन्तर्राष्ट्रिय अभ्यास

असल अभ्यासको आत्मसात्

✓ स्वतन्त्र नियामक

स्वतन्त्र संरचनाको स्थापना

✓ संसदीय वैधानिकता

कानुनी ढाँचाको स्थापना

डिजिटल युगमा सामाजिक सञ्जाल नियमनको वास्तविक सफलता प्रतिबन्धमा होइन, विश्वास, उत्तरदायित्व र अधिकारको सहअस्तित्वमा निहीत छ ।

लेखकबारे

आनन्द गौतम इन्टरनेटको समतामूलक, सुरक्षित तथा अर्थपूर्ण पहुँच प्रवर्द्धनका लागि अग्रसर संस्था ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर) का संस्थापक हुन् ।

Share this post
Facebook
Twitter
LinkedIn
WhatsApp