मानिसको सभ्यता २१औँ शताब्दीमा पुगिरहँदा विभिन्न औद्योगिक क्रान्ति पार गरेर अहिलेको डिजिटल युगमा प्रवेश गरेको छ । अहिलेको परिवेशमा हाम्रा हरेक क्रियाकलाप सूचना प्रविधिको प्रयोग विना अपुरो महशुस हुने अवस्था छ । चाहे त्यो दैनिकरूपमा गरिने संवाद होस् वा अत्यावश्यक सेवाहरूको प्रयोग । हरेक विषयमा डिजिटल उपस्थिति अनिवार्य सरह भइसकेको छ ।
हालै विश्व दूरसञ्चार संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, विश्वको कुल जनसङ्ख्याको ७४ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । सन् २००५ मा विश्वका जम्मा १६ प्रतिशत जनसङ्ख्या मात्रै इन्टरनेटको पहुँचमा थिए । तर, २० वर्षको अवधिमा आएको परिवर्तनलाई आफैँमा एक उल्लेखनीय उपलब्धि मान्न सकिन्छ ।
नेपालको सन्दर्भमा समेत सन् २०२५ को अन्त्यसम्ममा कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा पुगिसकेको तथ्याङ्क छ । अझै मोबाइल इन्टरनेट (डेटा) को समेत आँकडा हेर्ने हो भने इन्टरनेटको पहुँच झण्डै ९० प्रतिशतमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यसअनुसार २ करोड ६६ लाख भन्दा बढी मानिस मोबाइल इन्टरनेटको पहुँचमा छन् । जसले इन्टरनेटको पहुँच मात्र नभएर हाम्रो समाज प्रविधिमैत्री भइरहेको इङ्गित गर्छ ।
महत्वपूर्ण तथ्य: इन्टरनेटको पहुँच विश्वव्यापीरूपमा नै तीव्र गतिमा बढिरहेका बेला अधिकांश प्रयोगकर्ता सामाजिक सञ्जालमा सक्रिय रहेको तथ्याङ्कले देखाउँछ । विश्वभरी ५ अर्ब ६६ करोड र नेपालमा १ करोड ४८ लाख मानिस आजको दिनमा सामाजिक सञ्जालमा सक्रिय रहेको देखिन्छ ।
यसरी हेर्दा विश्व जनसंख्याको झण्डै ६९ प्रतिशत व्यक्तिहरूको उपस्थिति सामाजिक सञ्जालमा छ । जसले यो माध्यमलाई सामाजिक एवम् आर्थिक दुवै विधामा अर्थपूर्ण प्रभाव पार्ने विविध घटनाक्रमले चित्रण गरिसकेको छ ।
नेपालमा सामाजिक सञ्जाल नियमनको प्रयास
इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा ठुलो हिस्सा सामाजिक सञ्जालमा रमाइरहँदा यसको नियमनको विषय भने कुनै एक राष्ट्रको सीमाभित्र मात्रै सीमित भने छैन । नेपालको सन्दर्भमा सामाजिक सञ्जालको नियमन नयाँ विषय पक्कै होइन ।
नियमनको समयरेखा
तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो कार्यकालमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएका थिए । उक्त विधेयक नेपालको साइबर स्पेश नियमन गर्न अघि सारिएको एक नवीनतम् अभ्यास थियो ।
रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेर आइन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका पारित गराउँदै राजपत्रमा प्रकाशित गराइन् । तर, यो निर्देशिकालाई लिएर पनि टिकाटिप्पणी भए ।
तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक नेपालमा लगभग १ वर्ष प्रतिबन्धमा पर्यो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सूचीकरणमा आउन सार्वजनिक आह्वान गरेको थियो ।
सूचीकरणमा नआएको भन्दै २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने अलोकप्रिय निर्णय गर्यो । प्रतिबन्धले राजनीतिक दलप्रति चुलिएको आक्रोशलाई थप बढाउने काम गर्दा २३ र २४ भदौको जेन-जी आन्दोलनले देशको समग्र राजनीतिक अवस्था नै फेरिदियो ।
तत्कालीन सञ्चारमन्त्री गुरुङले राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक दर्ता गराएका थिए । उक्त विधेयक अझै पनि राष्ट्रिय सभामा विचाराधीन छ ।
विवादास्पद प्रावधानहरू:
- सामाजिक सञ्जाल दर्ता अनिवार्य
- दर्ता नहुने सामाजिक सञ्जाललाई रोक लगाउने
- सूचना प्रविधि विभागलाई सामग्री हटाउन निर्देशन दिने अधिकार
- २४ घण्टा भित्र सामग्री हटाउनुपर्ने व्यवस्था
अन्तर्राष्ट्रिय अभ्यासहरू
सामाजिक सञ्जाल नियमनको विषय नेपालमा मात्र नभएर विभिन्न देश तथा क्षेत्ररूमा केही नजिर स्थापित भएको देखिन्छ । विश्वव्यापी रूपमा नै पेचिलो बनिरहेको सामाजिक सञ्जाल नियमनको बहस आफैमा बहुआयामिक छ ।
🇪🇺 युरोपियन युनियनको अभ्यास
युरोपको अभ्यास अनलाइन सुरक्षा तथा मानव अधिकार संरक्षणलाई जोड दिएको पाइन्छ । नियमनको अभ्यास विभिन्न चरणमा लागु भएका कानुनमा आधारित छ ।
GDPR (सन् २०१६)
- डेटा संरक्षणमा महत्वपूर्ण भूमिका
- डेटा प्रशोधन गर्नुपूर्व अनिवार्य अनुमति
- Right to be Forgotten को व्यवस्था
- स्वतन्त्र डेटा संरक्षण निकायको स्थापना
Digital Services Act (सन् २०२२)
- सम्पूर्ण डिजिटल प्लेटफर्मको नियमन
- १० प्रतिशतभन्दा धेरै प्रयोगकर्ता भएका १९ ठुला सेवा प्रदायकको कडा नियमन
- गैरकानुनी क्रियाकलापको अनुगमन
- उल्लंघनमा युरोपस्तरीय प्रतिबन्ध र चर्को जरिवाना
🇬🇧 बेलायतको अनलाइन सुरक्षा ऐन
बेलायतले सन् २०२३ अक्टोबरमा अनलाइन सुरक्षा ऐन (Online Safety Act 2023) लागु गरेको छ । जसले डिजिटल सुरक्षालाई नयाँ आयाम प्रदान गरेको छ ।
- उमेर प्रमाणीकरण प्रणाली अनिवार्य
- बालबालिकाहरूलाई हानिकारक सामग्रीबाट संरक्षण
- गैरकानुनी सामग्री द्रुत रूपमा हटाउने प्रणाली
- Ofcom लाई व्यापक नियामक अधिकार
- राजस्वको १० प्रतिशत वा १.८ करोड पाउन्डसम्म जरिवाना
- गम्भीर अवस्थामा सेवा प्रतिबन्ध गर्न सक्ने
आलोचना: End-to-End Encryption कमजोर हुने र प्रयोगकर्ताको गोपनियतामा आघात पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
🇦🇺 अष्ट्रेलियाको अभ्यास
अष्ट्रेलियाले भने बालबालिकाको सुरक्षालाई मुख्य आधार मान्दै उमेर हदका आधारमा सामाजिक सञ्जाल नियमनको फरक अभ्यास सुरूवात गरेको छ ।
कठोर नियम: १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण निषेध लगाइएको छ । यसलाई हाल लागु भएका नियममध्ये सबैभन्दा कठोर रूपमा हेरिएको छ ।
जिम्मेवारी: सामाजिक सञ्जाल प्लेटफर्महरूलाई उचित कदम चाल्ने जिम्मेवारी दिइएको छ जसले गर्दा १६ वर्ष मुनिका बालबालिकाहरूले खाता खोल्न नपाउन् ।
बहस: यो कठोर नियमले बालबालिकाको अनलाइन सुरक्षा र उनीहरूको डिजिटल अधिकारबिचको सन्तुलन कसरी कायम राख्न सक्छ भन्ने विश्वव्यापी बहस समेत सुरु गराएको छ ।
अन्तर्राष्ट्रिय सिकाइँहरु तथा हाम्रो वर्तमान अवस्था
- • नागरिकको अधिकार संरक्षण
- • गैरकानुनि क्रियाकलापको रोकथाम
- • बालबालिकाको सुरक्षा
- • नागरिकको विश्वास
नेपालको वर्तमान अवस्था
हाम्रो सन्दर्भमा हेर्ने हो भने हामिसँग मौजुदा कानुनी संयन्त्रको कुरा गर्ने हो भने सूचना प्रविधि क्षेत्रको विशिष्टिकृत कानुन भनेको विद्युतीय कारोबार ऐन, २०६३ मात्र छ । लगभग २० वर्ष पहिला लागु गरिएको यो कानुनले अहिले भइरहेको सूचना प्रविधिको तीव्र विकासका सन्दर्भमा गर्नुपर्ने नियमनको विषय सम्बोधन गर्न सक्दैन ।
आलोचनाको मुख्य कारण: सबै प्रयत्नहरुमा कठोर नियमनको प्रयास नै आलोचनाको मुख्य कारण रहेको देखिन्छ । भर्खरै बामे सार्दै गरेको सूचना प्रविधि उद्योगलाई कठोर नियमन भन्दा पनि प्रवर्द्धनमुखी नीति तथा नियमले डोहोर्याउँदै लैजानु आजको आवश्यकता देखिन्छ ।
कर सम्बन्धी भ्रम
सामाजिक सञ्जाल नियमनमा समेत सरकारी तवरबाट गलत र भ्रामक सूचनाको प्रवाह भइरहेको देखिन्छ । यसको एउटा उदाहरण सामाजिक सञ्जाल सेवा प्रदायकलाई करको दायरामा आउनको लागि सूचीकरण गर्नुपर्ने प्रयास हो ।
वास्तविकता: विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०८१ अन्तर्गत गुगल, फेसबुक, माइक्रोसफ्ट लगायत कम्पनीहरू नेपालको कर प्रणालीमा २०८० असारदेखि नै दर्ता भइसकेका छन् ।
आर्थिक वर्ष २०८०/८१:
- १९ कम्पनी दर्ता
- २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार
- ४१ करोड कर तिरेको
यस्तो गलत प्रचारले सरकारको नियत नियमन हो कि नियन्त्रण भन्ने प्रश्न खडा गरेको छ ।
अबको बाटो
हामिसंग मैजुदा रहेका कानुनि तथा सस्थागत संरचनाबाट आजको डिजटल समाज र अर्थतन्त्रको, नियमन अनि प्रबर्दधन दुवै हुन सक्दैन । अहिले विचाराधिन रहेका विधयक सोहि मनसाय र प्रावधानका साथ संसदबाट पारित नै भएर कानुन बन्दै गर्दा पनि यसको कार्यन्यन सहज छैन ।
सामाजिक सञ्जाल कम्पनीहरू प्रतिक्रिया नदिनुका कारणहरू:
- प्लेटफर्म सूचीकरणलाई सञ्चालन अनुमति (License) जस्तो बनाइनु
- सामग्री हटाउने अधिकार सरकारी निकायमा केन्द्रित हुनु
- न्यायिक पुनरावलोकन र अपिलको स्पष्ट व्यवस्था नहुनु
- प्राविधिक रूपमा कार्यान्वयनमा जटिलता हुनु
कम्पनीहरूको तर्क: उनीहरू नेपालको कानुन मान्न तयार छन्, तर त्यो कानुन अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्लेटफर्म–उत्तरदायित्व, पारदर्शिता र प्रयोगकर्ताको अधिकारमा आधारित हुनुपर्छ ।
प्राविधिक चुनौतीहरू
संसदबाट कानुन पारित भए पनि सामाजिक सञ्जाल कम्पनीहरू तत्काल नेपालमा भौतिक रूपमा दर्ता वा कार्यालय खोल्न बाध्य हुँदैनन् । यदि बाध्य पार्ने नै हो भने अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया र अदालतको आवश्यकता हुन्छ जुन विषय निकै जटिल छ ।
- 📌 विज्ञापन तथा व्यावसायिक गतिविधिमा रोक
- 📌 ISP मार्फत आंशिक अवरोध
- 📌 अन्तर्राष्ट्रिय कानुनी सहकार्यको प्रयास
महत्वपूर्ण: पूर्ण प्रतिबन्ध अन्तिम विकल्प (Last Resort) मानिन्छ जुन आफैँमा अलोकतान्त्रिक र अधिनायकवादी अभ्यास हो ।
दीर्घकालीन समाधान
सरकारले कठोर नियमनको हठबाट माथि उठेर समय सापेक्ष कानुन अवलम्बन गर्नुको विकल्प छैन । आजको आवश्यकता भनेको नागरिको डेटा तथा मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर सरोकारवालहरुको सहभागीतामा नीति निर्माणमा जोड दिनु हो ।
आवश्यक सन्तुलनहरू:
- अनलाइन माध्यममा उपभोग गर्ने अधिकार
- अभिव्यक्ति स्वतन्त्रता
- गोपनीयता र सुरक्षा
- डिजिटल अर्थतन्त्र र नवप्रवर्तन
- नागरिक स्वतन्त्रता
दीगो समाधानका लागि:
सरोकारवालहरूको सहभागिता
सरकार र प्लेटफर्मबिच संवाद
असल अभ्यासको आत्मसात्
स्वतन्त्र संरचनाको स्थापना
कानुनी ढाँचाको स्थापना
डिजिटल युगमा सामाजिक सञ्जाल नियमनको वास्तविक सफलता प्रतिबन्धमा होइन, विश्वास, उत्तरदायित्व र अधिकारको सहअस्तित्वमा निहीत छ ।
लेखकबारे
आनन्द गौतम इन्टरनेटको समतामूलक, सुरक्षित तथा अर्थपूर्ण पहुँच प्रवर्द्धनका लागि अग्रसर संस्था ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर) का संस्थापक हुन् ।




